नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘मुया रानी’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । गीतमा रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरको मधुर स्वर सुन्न सकिन्छ भने शब्द रचना कमल शर्मा आचार्यले गरेका हुन् । हरेक युगल जोडीलाई समर्पित यस गीतले मायालु मनभित्रका संवेदनशील अनुभूतिहरूलाई शब्द, संगीत र अभिनयमार्फत सशक्त ढंगले प्रस्तुत गरेको छ ।
राजधानी काठमाडौँस्थित होटल कावेरी इनमा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, गीतकार आनन्द अधिकारी, नेपाल सरकारका सचिव अशोक क्षेत्री, पूर्व एआईजी श्याम ज्ञवाली, गायक तथा संगीतकार रेशम सापकोटा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्माण व्यवस्थापन दिपेन गौतमले गरेका छन् भने सह(निर्देशन सैलेश खत्रीले गरेका छन् । पुनम श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियो एलिश खनालले निर्देशन गरेका हुन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोप्रति कार्यक्रममा सहभागीहरूले प्रशंसा गरेका थिए ।
संगीतकार ऋषि खड्काले संगीत भरेका छन् । गीतकार आचार्यले आफ्ना श्रीमतीको जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरेका हुन् । ‘मुया रानी’ले प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्दै दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ । भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।