अभिनेता सलिमान बनियाँले आफ्नो जन्मदिनको विशेष अवसर पारेर आफू अभिनित नयाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण गरिएको यस फिल्मको टिजर दर्शकका लागि सरप्राइज स्वरूप सार्वजनिक गरिएको हो ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज गरिएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा सलिमानको दमदार एक्सन अवतार देख्न सकिन्छ । फिल्म ‘यात्रा’पछि केही समय मौन बसेका उनी यस प्रोजेक्टमार्फत शक्तिशाली कमब्याक गरेको देखिन्छ ।
टिजरमा अभिनेता सलोन बस्नेत पनि प्रभावशाली एक्सन अवतारमा देखिएका छन् । दुवै कलाकार साथीको भूमिकामा देखिँदै आफ्नै ग्याङमार्फत सफलता हासिल गर्न संघर्षरत रहेको कथा संकेत गरिएको छ। फिल्मको कथावस्तु र अन्य पक्षबारे थप जानकारी आगामी ट्रेलरमार्फत खुल्ने अपेक्षा गरिएको छ।
सान्भी इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको यस फिल्ममा सलिमानले आफूलाई नयाँ शैलीमा प्रस्तुत गरेका छन् । यसअघि ‘लभर ब्वाई’को छविमा देखिँदै आएका उनी यसपटक एक्सन भूमिकामा फरक ढंगले देखिएका छन् ।
सलिमान बनियाँकै कथामा निर्माण भएको यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन् । मुख्य भूमिकामा सलिमान र सलोन रहेका छन् भने अन्य कलाकार र प्राविधिक टिमबारे विस्तृत जानकारी हालसम्म सार्वजनिक गरिएको छैन । निर्माण पक्षले प्रदर्शन मिति पनि घोषणा गरेको छैन ।
फिल्ममा रोमन बज्राचार्यको ब्याकग्राउण्ड स्कोर, मनोज लामाको मेकअप, सुवास काफ्लेको प्रोडक्सन म्यानेजमेन्ट तथा केवलमान सिंह बस्नेतको सहायक प्रोडक्सन व्यवस्थापन रहेको छ । साथै, साउन्ड डिजाइन मुकेश शाहले गरेका छन् भने भिएफएक्स मनोज श्रेष्ठले तयार गर्दैछन् । सम्पादन तथा ट्रेलर बन्दे प्रसादले गरेका छन् भने रंग संयोजन राजेन्द्र मोक्तानले गरेका छन् । फिल्मको स्क्रिनप्ले मन्दिप गौतमको रहेको छ र छायांकन सौरभ लामाले सम्हालेका छन् ।