नेपाली मौलिक संगीत क्षेत्रमा दुई दशकदेखि सक्रिय सर्जक गणेश गुरुङले नयाँ कौडा–चुड्का गीत ‘पियारी’ सार्वजनिक गरेका छन् । गण्डक क्षेत्रको पहिचान झल्काउने रैथाने भाकालाई व्यावसायिकता भन्दा माथि राख्दै संरक्षण गर्ने उद्देश्यका साथ गीत बजारमा ल्याइएको हो ।
‘पियारी’ विशेषतः गोरखा र तनहुँ आसपासका क्षेत्रमा प्रचलित चुड्का भाकामा आधारित गीत हो । गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा र दराई समुदायबीच यो भाका निकै लोकप्रिय मानिन्छ ।
गीतमा गणेश गुरुङसँगै तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर समावेश गरिएको छ भने शब्द सिर्जना स्वयं गुरुङकै हो । संगीत संयोजन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका छन् भने एरेञ्जमेन्ट तेजेन्द्र दुराले गरेका हुन् ।
मनाङ गुरुङको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको भिडियोमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङ स्वयंको अभिनय देख्न सकिन्छ । करण चैसिरले छायांकन गरेको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका हुन् ।
परम्पराअनुसार चुड्का गीतको गायन वैशाख पूर्णिमादेखि सुरु हुने चलन छ । विभिन्न भेगअनुसार सती घाटु र चुड्का गीतबीच गहिरो सम्बन्ध रहने विश्वास गरिन्छ, जसलाई यस गीतमार्फत उजागर गर्ने प्रयास गरिएको छ ।
गायक गुरुङका अनुसार यो गीत व्यावसायिक लाभभन्दा पनि पुर्खाले जोगाएर ल्याएका मौलिक धुनहरूको संरक्षण गर्ने अभियानको रूपमा प्रस्तुत गरिएको हो । मौलिक कौडा गीतलाई अवार्ड दिने परम्परा सुरु भएसँगै ‘राप्ती म्यूजिक अवार्ड’ (सुनको औँठी गीतबाट) जित्न सफल गुरुङलाई स्रोताले ‘कौडा किङ्ग’ को उपाधिसमेत दिएका छन् ।
यसअघि ‘सल्ला धुपैले’, ‘गोरखा मनकामना’ र ‘गोगनपानीमा’ जस्ता चर्चित दोहोरी गीत प्रस्तुत गरिसकेका गुरुङको ‘पियारी’ ले मौलिक संस्कृति प्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । गण्डक सभ्यताको सुगन्ध बोकेको यस गीतले नेपाली मौलिक संगीतमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।