चलचित्र ‘रोल नं १’ को निर्माण टिम अहिले दर्शकसँग प्रत्यक्ष संवाद गर्न मोफसल यात्रा थालेको छ । प्रचारको पहिलो चरणमा टोली पूर्वी नेपालका विभिन्न जिल्लामा पुगेको छ ।
झापा, मोरङ र सुनसरीका विद्यालयमा पुगेर टिमले विद्यार्थीसँग भेटघाट गर्ने योजना बनाएको छ । ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा, सुन्न तपाईंका मनका कुरा‘’ भन्ने विशेष स्लोगनसहित टोलीले फरक शैलीमा प्रचार अघि बढाएको हो। ‘हरेक विद्यार्थीको कथा’ भन्ने मूल भाव बोकेको यो फिल्मले विद्यार्थी जीवनका अनुभूति र संघर्षलाई केन्द्रमा राखेको छ ।
विद्यालयमै पुगेर कलाकार र गायकहरूले फिल्मबारे जानकारी दिनुका साथै विद्यार्थीका अनुभव र विचार सुन्न थालेका छन् । विद्यार्थीको वास्तविक कथालाई प्राथमिकतामा राख्दै निर्माण टिमले अन्तरक्रियात्मक प्रचार अभियान चलाइरहेको छ ।
यस अभियानमा मुख्य कलाकार मुकुन भुसाल, रेणु योगी, गायक तथा संगीतकार प्रशान्त शिवाकोटी र कर्मा लामा सहभागी छन् । जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारलाई यसले थप उत्साह दिएको छ ।
निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं १’ ले विद्यार्थीको मनोविज्ञान, वर्तमान शैक्षिक प्रणालीका चुनौती र त्यसले जीवनमा पार्ने असरलाई चित्रण गर्नेछ । गलत अभ्यास र प्रणालीले विद्यार्थीमा पारिरहेको नकारात्मक प्रभावलाई फिल्ममार्फत देखाउन खोजिएको उनले बताएका छन् । यही कारणले विद्यालयलाई प्रचारको मुख्य केन्द्र बनाइएको हो ।
जोन योञ्जनको निर्देशनमा बनेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा छन् । महेश दवाडीले कथा लेखेका हुन् भने म्याग्दीका विभिन्न सुन्दर ग्रामीण क्षेत्रमा छायांकन गरिएको छ । चलचित्रका डीओपी शिवराम श्रेष्ठ हुन् ।
संगीत प्रशान्त शिवाकोटीको, विजिएम रोहित शाक्यको रहेको फिल्ममा फिरोद खड्का चिफ एडी, कला संग्रौला प्रोडक्सन डिजाइनर र मनोज जोशी प्रोडक्सन हेड छन् । सम्पादन मदन घिमिरेले गरेका छन् ।
निर्माता पौडेलका अनुसार फिल्म नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन् ।