नेपाली चलचित्र ‘महाराजधिराज’को मंगलबार शुभमुहूर्त गरिएको छ । बंगलामुखी मन्दिरमा शङ्खधुन र पञ्चेबाजासहित आयोजना गरिएको शुभमुहूर्त कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण टिमको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुख्य कलाकार पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत सहभागी भएका थिए । साथै निर्देशक परिच्छेद सेनसहित अन्य कलाकारहरूको पनि उपस्थिति रहेको थियो। यो चलचित्रलाई निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा हेरिएको छ ।
चलचित्रको छायांकन यही २५ गतेदेखि सुनसरीबाट सुरु गरिने भएको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने छायांकन त्यहाँ एक सातासम्म चल्नेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक तथा आकर्षक स्थानहरूमा करिब ७० दिनसम्म छायांकन गरिने जानकारी दिइएको छ । चलचित्रको छायांकन नवराज थापाले गर्नेछन् । निर्देशक सेनले लामो समय लगाएर तयार पारेको ‘महाराजधिराज’ सामाजिक परिवेशमा आधारित पिरियड ड्रामा रहेको बताएका छन् ।
चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी र सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । यसका साथै हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटासहित ठूलो कलाकार टोली चलचित्रमा आबद्ध छन् ।
करिब ८० जना कलाकारको अभिनय रहने यस चलचित्रमा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली र सपना घिसिङलगायत कलाकार पनि देखिनेछन् । चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार लाइनअपअनुसार चलचित्रलाई पनि उच्चस्तरको बनाइने विश्वास व्यक्त गरेका छन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘महाराजधिराज’मा निर्देशक परिच्छेद सेनकै लेखन रहेको छ । चलचित्रका निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । निर्माण टिमका अनुसार चलचित्र आगामी फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याइने तयारी गरिएको छ ।