नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेता दयाहाङ राई र सौगात मल्ल अभिनीत नयाँ चलचित्र ‘मितज्यू’ आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । लामो समयदेखि दर्शकमाझ लोकप्रिय रहेका यी दुई कलाकार फेरि एकपटक एउटै पर्दामा देखिन लागेका हुन् ।
दयाहाङ र सौगात नेपाली सिनेमाका व्यस्त तथा सफल अभिनेतामध्ये पर्छन् । उनीहरूको अभिनयलाई दर्शकले रुचाउने भएकाले निर्माता तथा निर्देशकको रोजाइमा उनीहरू सधैं पर्ने गरेका छन् । यही कारण उनीहरू निरन्तर मुख्य भूमिकामा देखिँदै आएका छन् ।
चलचित्र ‘मितज्यू’मा यी दुई कलाकारबीच रोचक द्वन्द्व र नोकझोक प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टर र टिजरमा पनि उनीहरू आमनेसामने देखिएका छन् । एउटै यात्रामा रहे पनि विचार नमिल्ने पात्रका रूपमा उनीहरू प्रस्तुत भएका छन् ।
दयाहाङ र सौगातले यसअघि ‘लुट’ र ‘कबड्डी’ जस्ता सफल चलचित्रमा सँगै काम गरिसकेका छन् । ती चलचित्रमा देखिएको उनीहरूको अभिनय र आपसी टकराव दर्शकले निकै मन पराएका थिए । निर्माण टिमले ‘मितज्यू’ले पनि त्यही सफलता दोहोर्याउने विश्वास लिएको छ ।
निर्माता जनक घर्ती मगरका अनुसार चलचित्रमा सिर्जना गरिएको द्वन्द्व र दुई कलाकारको भूमिकाले दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ । उनले ‘मितज्यू’लाई दयाहाङ र सौगातको सम्झनलायक चलचित्र बन्ने दाबी गरेका छन् ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा तथा स्मिता लामिछानेको अभिनय रहेको छ । तेरियाको यो डेब्यु चलचित्र हो ।
चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने ‘मितज्यू’को डिजिटल अधिकार ओएसआरले खरिद गरेको निर्माण पक्षले जनाएको छ ।