आगामी शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर विशेष समारोहबीच सम्पन्न भएको छ । प्रिमियरमा सहभागी दर्शक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।
चलचित्रले उठाएको सामाजिक तथा भावनात्मक विषयवस्तुलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भन्दै दर्शकले प्रशंसा गरेका छन् । २ घण्टा ३८ मिनेट लामो चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्न सफल भएको प्रतिक्रिया प्राप्त भएको छ ।
चलचित्रको प्रिमियरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछाने पनि सहभागी भएका थिए । चलचित्रका निर्माता तथा गायक रामकृष्ण ढकालका निकट मित्र रहेका लामिछानेले चलचित्रले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गरेको बताए ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समेत चलचित्रको खुलेर प्रशंसा गरेका थिए । प्रिमियर कार्यक्रममा कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्रीलगायत चलचित्रकर्मी, सञ्चारकर्मी तथा संगीत र फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरिएको चलचित्रको निर्देशन तथा कथा प्रकु पाण्डेयले तयार पारेका हुन् । पटकथा र संवाद संयोग गुरागाईँले लेखेका छन् । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन् ।
चलचित्रमा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने ‘मालती मंगले’ शुक्रवारदेखि देशभर प्रदर्शनमा आउनेछ ।