गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा तथा नेपाल सरकार चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालन गरिएको सातदिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।
बैशाख १६ गतेदेखि सुरु भएको उक्त कार्यशाला बैशाख २२ गतेसम्म पोखरा महानगरपालिका–३, नदीपुरस्थित हंशध्वनि थिएटरमा सञ्चालन गरिएको थियो । कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा गुरुङ चलचित्र क्षेत्रसँग सम्बन्धित कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । प्रशिक्षणका क्रममा अभिनय कला, संवाद प्रस्तुति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली तथा क्यामेराअघि कलाकारले अपनाउनुपर्ने व्यवहारिक सीपबारे अभ्याससहित प्रशिक्षण दिइएको थियो ।
समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा उपस्थित थियो । साथै वरिष्ठ कलाकार माओत्से गुरुङ, जिफानका सल्लाहकार कृष्णकुमार गुरुङ तथा चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष सन्तोष वस्यालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डीसीले स्थानीय भाषा, संस्कृति र समुदायमा आधारित चलचित्रको प्रवर्द्धनका लागि दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको बताए । उनले गुरुङ चलचित्रले नेपाली चलचित्र क्षेत्रमा मौलिकता, पहिचान र सांस्कृतिक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता प्रशिक्षणले कलाकारको क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी, गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष राजबहादुर गुरुङ ‘राजेश’ले कार्यशालाको सफल आयोजना गुरुङ चलचित्र क्षेत्रका लागि सकारात्मक उपलब्धि भएको बताए । उनले आगामी दिनमा पनि जिफानले चलचित्रकर्मीहरूको सीप विकास, प्रशिक्षण तथा संस्थागत सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै, निकट भविष्यमा नदीपुर, पोखरामा उद्घाटन हुन लागेको “हंशध्वनि एस एक्टर्स स्टुडियो” को विशेष सहयोगको सहभागीहरूले प्रशंसा गरेका थिए ।
कार्यशालाले गुरुङ चलचित्र क्षेत्रका कलाकारहरूमा अभिनयप्रतिको आत्मविश्वास, व्यावसायिक सोच तथा सिर्जनात्मक क्षमतामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो । जिफानका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव लब्सन गुरुङले गरेका थिए ।