निर्देशक जौन योञ्जन द्वारा निर्देशित नेपाली चलचित्र ‘क्रलिङ क्रोज: आँखा’ले अमेरिकामा आयोजित प्रतिष्ठित वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई महत्वपूर्ण ‘रेमी अवार्ड’ जित्दै अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आयोजक समितिले हालै इमेलमार्फत चलचित्रले दुई विधामा उत्कृष्टता हासिल गरेको औपचारिक जानकारी दिएको हो ।
चलचित्रले ‘फरेन फिचर’ विधामा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेटिनम रेमी अवार्ड’ प्राप्त गरेको छ भने ‘डाइरेक्टिङ–क्राफ्ट’ विधामा ‘गोल्ड अवार्ड’ जित्न सफल भएको छ । नेपाली चलचित्रका लागि यो उपलब्धि निकै गौरवपूर्ण मानिएको छ ।
विश्वभरका चलचित्र निर्माता तथा सिर्जनाकर्मीलाई एउटै मञ्चमा ल्याउने यो महोत्सव अमेरिकाको ह्युस्टन मा आयोजना गरिएको थियो । सन् १९६१ मा स्थापना भएको यो महोत्सव विश्वकै पुराना स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक हो । हलिउडका चर्चित निर्देशक स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च तथा आङ ली ले पनि आफ्नो प्रारम्भिक करियरमा यही महोत्सवबाट सम्मान प्राप्त गरेका थिए ।
यसअघि पनि क्रलिङ क्रोजस् आँखा ले एसिया प्यासिफिक फिल्म फेस्टिभल को ६२औं संस्करणमा ‘उत्कृष्ट चलचित्र’ को उपाधि जित्दै इतिहास रचेको थियो । उक्त सम्मान जित्ने यो पहिलो नेपाली चलचित्र बनेको थियो।
चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हासिल गरेपछि नेपाली चलचित्र उद्योगतर्फ विश्वको ध्यान आकर्षित भएको छ। निर्देशक योञ्जनको कामले नेपाली कथावस्तुले विश्वव्यापी दर्शकको मन छुने क्षमता राख्ने स्पष्ट संकेत दिएको समीक्षकहरूको भनाइ छ।
सुकुम्बासी बस्तीका सर्वसाधारण मानिसहरूको संघर्ष, जीवनशैली र यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरिएको यस चलचित्रमा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल तथा बुद्धि तामाङ लगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
यो सफलतासँगै ‘क्रलिङ क्रोज: आँखा’ले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा अझ उच्च बनाएको छ ।