नेपाली चलचित्र ‘मालती मंगले’ आज शुक्रबारदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको छ । प्रदर्शनअघि नै उत्कृष्ट प्रतिक्रिया र दर्शकको उच्च उत्साह बटुलेको यस चलचित्रले नेपालभर १५० भन्दा बढी शो प्राप्त गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् ।
रिलिजको पूर्वसन्ध्यामा राजधानीमा आयोजित भव्य प्रिमियरमा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले चलचित्रलाई नेपाली समाजले अनिवार्य रूपमा हेर्नुपर्ने कथा भएको बताएका थिए । प्रिमियरपछि धेरै चर्चित व्यक्तित्वहरूले चलचित्रको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
विशेषगरी अभिनेता विजय बरालको अभिनयले दर्शकको ध्यान तानेको छ । उनले आफ्नो स्वाभाविक अभिनय शैलीलाई पुनः प्रभावशाली रूपमा प्रस्तुत गरेका छन् । त्यस्तै, अभिनेत्री वर्षा राउतले आफ्नो करियरकै उत्कृष्ट अभिनय दिएको प्रतिक्रिया दर्शक र समीक्षकबाट प्राप्त भएको छ । टेलिभिजन कमेडी कार्यक्रमबाट परिचित मेक्सम गौडेलको ठूलो पर्दामा देखिएको दमदार उपस्थितिलाई पनि चलचित्रको आकर्षणका रूपमा हेरिएको छ ।
चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।
रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस सामाजिक कथामा आधारित चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने निर्देशन प्रकु पाण्डेयले गरेका छन् । चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका छन् ।
चलचित्रमा सागर ज्ञवाली कार्यकारी निर्माताका रूपमा रहेका छन् । बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह(निर्माताका रूपमा आबद्ध छन्।
प्राविधिक पक्षमा पनि चलचित्र बलियो रहेको बताइएको छ। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत तथा डिकेश खड्गीको ध्वनि मिश्रणले चलचित्रलाई थप प्रभावशाली बनाएको छ।
प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रिया र देशभरको आक्रामक शो सङ्ख्याका कारण ‘मालती मंगले’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्ने अपेक्षा गरिएको छ ।