शुक्रबारदेखि देशभरका चलचित्रघरमा तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘मालती मंगले’, ‘लालीबजार’ र ‘गुरूआमा’ एकसाथ रिलिज भएका हुन् । यी तीनै चलचित्रले आ–आफ्नै शैली र विषयवस्तु प्रस्तुत गरेका छन् ।
रामकृष्ण ढकालको निर्माण रहेको ‘मालती मंगले’ प्रेम, संघर्ष र सामाजिक दबाबको कथामा आधारित ड्रामा तथा रोमान्स जनराको फिल्म हो । प्रकु पाण्डेको निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल र प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । फिल्मको कुल अवधि १५८ मिनेट रहेको छ ।
त्यसैगरी, ‘लालीबजार’ षट्कोण आर्ट्सको प्रस्तुति रहेको सामाजिक कथावस्तुमा आधारित फिल्म हो । यम थापाले निर्देशन गरेको यस चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, विशाल देवकोटा, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा तथा प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मले बादी समुदायकी एक आमाले आफ्नी छोरीको भविष्यका लागि गर्ने संघर्षलाई चित्रण गरेको छ ।
यस्तै, ‘गुरूआमा’ शिक्षा र सामाजिक विकृतिका विषय उठान गरिएको फिल्म हो । १२८ मिनेट लामो यस चलचित्रमा मिथिला शर्मा मुख्य भूमिकामा देखिएकी छन् । साथै, बुद्धि तामाङ, प्रेम सोनी सुनार र सुशील पोखरेलको पनि अभिनय रहेको छ । फिल्मको निर्देशन प्रेम सोनी सुनारले गरेका हुन् ।