कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आजदेखि चौथो संस्करणको ‘सिनेमा संवाद’ कार्यक्रम सुरु हुँदैछ । नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित विविध विषयमा सिर्जनात्मक बहस, अनुभव आदानप्रदान तथा अन्तरक्रियाका लागि आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले जनाएको छ ।
शनिबारसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली फिल्म उद्योगको वर्तमान अवस्था, अवसर, चुनौती तथा भविष्यका सम्भावनाबारे गहन छलफल गरिने सङ्घका अध्यक्ष सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार यस वर्ष ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता समसामयिक विषयमा बहस केन्द्रित रहनेछ ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ विषयक सत्रमा अभिनेत्री आचल शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराईले आफ्ना धारणा राख्नेछन् । त्यसैगरी ‘सिनेमामा द्वन्द्व’ शीर्षक अन्तर्गत अभिनेता निखिल उप्रेती तथा लेखक–निर्देशक मनोज पण्डित वक्ताका रूपमा सहभागी हुनेछन् ।
यस्तै ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र अभिनेत्री बेनिशा हमालले विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ शीर्षकमा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारीबीच बहस हुने जनाइएको छ ।
कार्यक्रमले माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा पनि यसले सकारात्मक योगदान पुर्याउने आयोजकको विश्वास छ । यसअघि ‘सिनेमा संवाद’ कार्यक्रम कास्कीका घान्द्रुक, सिक्लेस तथा लमजुङको घले गाउँमा सफलतापूर्वक आयोजना भइसकेको छ ।