नेपाली चलचित्र रोल नं १ को नयाँ गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार लोकलयमा आधारित गीत दर्शकमाझ ल्याएको हो ।
गीतमा गायक प्रशान्त शिवाकोटी र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। सुष्मा सिग्देलको शब्द रहेको गीतमा संगीत पनि प्रशान्त शिवाकोटी स्वयंले तयार गरेका हुन् । गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले समेत साथ दिएका छन् ।
सार्वजनिक गीत प्रेमभावमा आधारित सवाल–जवाफ शैलीमा तयार गरिएको छ । गीतमा युवकले युवतीसँग जीवन सँगै बिताउने प्रस्ताव राख्दा युवतीले हतार नगर्न आग्रह गरेको भाव प्रस्तुत गरिएको छ । प्रेममा गम्भीरता आवश्यक रहेको सन्देश गीतमार्फत व्यक्त गरिएको छ ।
गीतको भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । विनोद पौडेलको निर्माण रहेको चलचित्र आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रले विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले बालबालिकामा पार्ने असरलाई मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ ।
जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहनेछ ।
महेश दवाडीले लेखेको चलचित्र म्याग्दी जिल्लाका विभिन्न ग्रामीण तथा रमणीय स्थानमा छायांकन गरिएको हो । चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादन मदन घिमिरेले गरेका छन् ।
निर्माता विनोद पौडेलका अनुसार चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ । चलचित्रको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन् ।