चलचित्र विकास बोर्ड ले जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको संस्थागत विकासलाई प्राथमिकता दिँदै भुजेल चलचित्रकर्मी संघ सँगको सहकार्यमा पाँच दिने अभिनय कला तालिम सुरु गरेको छ ।
भुजेल चलचित्रकर्मी संघको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको तालिमको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पछिल्लो समय बोर्डले मूलधारका चलचित्रसँगै जातीय, भाषिक तथा सांस्कृतिक पहिचान बोकेका चलचित्र क्षेत्रको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिँदै आएको छ। सोही अभियानअन्तर्गत भुजेल समुदायका कलाकार तथा चलचित्रकर्मीलाई लक्षित गर्दै अभिनय कला तालिम आयोजना गरिएको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ का कार्यवाहक अध्यक्ष भुइसल लामा, भुजेल समाज सेवा केन्द्रीय समितिका उपाध्यक्ष रामगोपाल भुजेल, महासचिव हिलारी बन्धु भुजेललगायत विभिन्न जातीय चलचित्र संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक आरुस जंग मगर र चन्द्रबहादुर भुजेलले अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, क्यामेरा अगाडिको प्रस्तुति तथा कलाकारको व्यावसायिक अनुशासनसम्बन्धी प्रशिक्षण दिनेछन् ।
भुजेल चलचित्रकर्मी संघका अध्यक्ष श्री अमृत सिं भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले जातीय चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई भाषा, संस्कृति, इतिहास र समुदायको पहिचान संरक्षण गर्ने प्रभावकारी माध्यम भएको धारणा व्यक्त गरे। उनीहरूले चलचित्र विकास बोर्डले यस्ता तालिम र सहकार्यलाई निरन्तरता दिए मातृभाषी तथा जातीय चलचित्र क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रलाई थप समावेशी र फराकिलो बनाउन सबै भाषा, संस्कृति र समुदायका चलचित्रकर्मीलाई अवसर, प्रशिक्षण तथा संस्थागत सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले क्षमता विकास, सीप अभिवृद्धि र समावेशी चलचित्र वातावरण निर्माणलाई बोर्डले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
आयोजकका अनुसार उक्त तालिमले भुजेल समुदायका नयाँ तथा सक्रिय कलाकारलाई अभिनय क्षेत्रमा आत्मविश्वास र सीप विकास गर्न सहयोग पुग्नेछ। साथै, भुजेल भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने अभियानलाई समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।