लोकगायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी सबको जिन्दगानी’को भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, निर्देशक देवेन्द्र पाण्डे, गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्की, कलाकार उत्तम केसीलगायतको उपस्थिति रहेको थियो ।
प्रकृति र मानव जीवनको आधारका रूपमा रहेको पानीको महत्वलाई केन्द्रमा राखेर तयार गरिएको गीतले संरक्षण र सचेतनाको सशक्त सन्देश दिएको छ । ‘पानी नै जीवन हो’ भन्ने मूल भाव बोकेको गीतमा पानीको संरक्षण गर्न तथा प्रदूषणबाट जोगाउन आग्रह गरिएको छ ।
भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी राजेश हमाल र करिश्मा मानन्धर लामो समयपछि एकसाथ देखिएका छन् । हमालले पानीको शक्ति र महत्वलाई अभिनयमार्फत प्रस्तुत गरेका छन् भने करिश्माले नृत्य र अभिनयद्वारा प्रकृतिको सौन्दर्य उजागर गरेकी छन् । भिडियोमा सगुन कार्कीको अभिनय पनि देख्न सकिन्छ ।
गीतमा शब्द तथा सङ्गीत स्वयं बम बहादुर कार्कीकै रहेको छ । गायनमा उनलाई शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले साथ दिएका छन् । सङ्गीत संयोजन बि।बि । अनुरागीले गरेका हुन् ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा नेपालका पहाड, नदी, झरना तथा प्राकृतिक दृश्यलाई कलात्मक ढङ्गले समेटिएको छ । छायाङ्कन हरि हुमागाईँले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन् । भिडियो गोरखा म्युजिकमार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा अभिनेता राजेश हमालले पानी मानव जीवनको सबैभन्दा महत्वपूर्ण आधार भएकाले यसको संरक्षणमा सबै सचेत हुनुपर्ने बताए । उनले वरिष्ठ गायक बम बहादुर कार्कीको योगदानको चर्चा गर्दै ‘पानको पात’ जस्ता गीतले विश्वभर नेपाली लोकसङ्गीतलाई परिचित गराएको उल्लेख गरे ।
अभिनेत्री करिश्मा मानन्धरले गीत तथा भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् भने गायक बम बहादुर कार्कीले पानी संरक्षणको सन्देश जनमानससम्म पुर्याउने उद्देश्यले गीत तयार गरिएको बताए ।