निर्देशक विनयराज पौडेलको पहिलो निर्देशनमा बन्न लागेको चलचित्र ‘अक्षरा’को औपचारिक छायांकन प्रारम्भ भएको छ । निर्माण टिमले सोमबारदेखि काठमाडौँमा फिल्मको सुटिङ सुरु गरेको जनाएको छ। यसअघि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा सम्पन्न गरेपछि निर्माण कार्यले तीव्रता पाएको हो ।
फिल्मको पहिलो चरणको छायांकन तालिका करिब एक महिनाको रहने बताइएको छ । निर्देशक पौडेलले आवश्यक सम्पूर्ण तयारीपछि मात्रै सुटिङ सुरु गरिएको उल्लेख गर्दै कथावस्तु र संवादमा विशेष मेहनत गरिएको बताए । कलाकारहरूलाई कार्यशाला गराएर अभिनय अभ्यासपछि मात्रै छायांकनमा सहभागी गराइएको उनको भनाइ छ । उनले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको भूमिकामा रहेका छन् । अभिमन्यु निरवीले पटकथा तथा संवाद तयार पारेका छन् । फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ ।
छायांकनको जिम्मेवारी दिपेन बस्न्यातले सम्हालिरहेका छन् । कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनले गर्नेछन् । त्यस्तै, मदन न्यौपानेले श्रृङ्गार, प्रार्थना भट्टराईले भेषभूषा तथा सुमन काफ्लेले निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको ‘अक्षरा’मा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह तथा सृजना अधिकारीको मुख्य भूमिका रहनेछ । साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गर्नेछन् ।
फिल्मको पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने वितरणको जिम्मा दीपक दंगालले नेशनल सिने ग्रुप नेपालमार्फत लिने भएका छन् । दिवस बोहरा मुख्य सहायक निर्देशक र मनोज बोहरा सहायक निर्देशकका रूपमा रहेका छन् ।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सहायक निर्देशकका रूपमा सक्रिय रहेका विनयराज पौडेलले ‘अक्षरा’मार्फत स्वतन्त्र निर्देशकको यात्रा सुरु गरेका हुन् ।