निर्देशक उत्तम अधिकारीको निर्देशनमा निर्माण हुन लागेको नयाँ वेब सिरिज ‘मायादेवी’को शुभमुहूर्त सम्पन्न गरिएको छ । मंगलबार काठमाडौंस्थित महादेव मन्दिरमा आयोजित कार्यक्रममा कलाकार, पत्रकार तथा निर्माण टिमको उपस्थितिमा सिरिजको औपचारिक शुभारम्भ गरिएको हो ।
‘सत्य र पीडाको एक रंग’ भन्ने नारासहित निर्माण हुन लागेको यस सिरिजले समाजका गम्भीर र यथार्थपरक विषयवस्तुलाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले जानकारी दिए । उनले नेपाली वेब सिरिज क्षेत्रमा ‘मायादेवी’ले नयाँ स्वाद र पृथक पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
सिरिजमा रवि गिरी, उत्तम केसी, दिया जिसी, गोविन्द थापा, कर्मा लामा, रामहरि खड्का, देव महर्जन, निर्मल लम्साल, सरिता भण्डारी, सुशीला थापा, गुणाकर अधिकारी, अर्जुन साह, प्रवन भुसाल, मना महर्जन, विजय लामा तथा सानुमायालगायत कलाकारहरूको अभिनय रहने निर्माण टिमले जनाएको छ ।
सिल्भर बुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मको संयुक्त ब्यानरमा निर्माण हुन लागेको ‘मायादेवी’मा चक्रबहादुर बरालको छायांकन तथा सन्तोष के. श्रेष्ठको सम्पादन रहने बताइएको छ ।