नयाँ नेपाली फिल्म 'काजी'को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेटभन्दा लामो ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, जिम्मेवारी र संघर्षको भावनात्मक कथा प्रस्तुत गरिएको छ । फिल्ममा विपिन कार्की र केकी अधिकारीको मुख्य अभिनय रहेको छ ।
ट्रेलरमा विपिन र केकीको जोडी विशेष आकर्षणका रूपमा देखिएको छ । दुवैबीचका संवाद, सम्बन्ध र भावनात्मक दृश्यले कथामा प्रेमसँगै संवेदनशील पक्ष पनि बलियो रहेको संकेत गर्छ । साथै, गरिमा शर्मा को उपस्थितिले कथामा नयाँ मोड आउने आभास गराएको छ ।
फिल्ममा विपिन ‘काजी’ र केकी ‘कजिनी’ पात्रमा देखिएका छन् । गाउँले परिवेशमा आधारित कथामा उनीहरूको जीवनमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र सम्बन्धको जटिलतालाई प्रस्तुत गरिएको छ ।
लक्ष्मण रिजाल को निर्देशनमा बनेको फिल्ममा विपिन, केकी र गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दिपबाबु लोहनी, विनोद न्यौपाने, रमिता, प्रशंसा सुवेदी, नवराज गिरी, बुद्धराज खनाल, गंगा शर्मा, रोजी श्रेष्ठ, हरिप्रसाद कोइराला, रेशम कोइराला, आरव बराल, सुपला सापकोटा र दीक्षिता अर्याललगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा प्रदीप भारद्धाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन तथा विपिन मल्लको सम्पादन रहेको छ । निर्माण पक्षमा रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी रहेका छन् । फिल्म ‘काजी’ आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।