नेपाली चलचित्र ‘गौँथली’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार सार्वजनिक गरेका पोस्टरमार्फत चलचित्रको कथावस्तु ग्रामीण परिवेशमा आधारित रहेको संकेत गरेको छ ।
सार्वजनिक पोस्टरमध्ये पहिलोमा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् । अरुणले दौरासुरुवाल, कोट, ढाका टोपी तथा दुबोको माला लगाएका छन् भने कम्मरमा बाँधिएको पटुकीमा गुलेली सिउरिएको देखिन्छ । पोस्टरको पृष्ठभूमिमा देखिएको गाउँघर, आगन र खरले छाएको झुपडीले गरिब ग्रामीण परिवारको परिवेश चित्रण गरेको छ ।
दोस्रो पोस्टरमा सिम्रन एक्लै देखिएकी छन् । उनी डोकोमा स्याउला बोकेर हिँड्दै पुस्तक पढिरहेको दृश्यमा प्रस्तुत भएकी छन् । खाली खुट्टा, पहाडी परिवेश र अध्ययनप्रतिको लगावले विवाहपछि पनि शिक्षाप्रतिको चाहना नत्यागेको पात्रको संघर्षलाई पोस्टरले देखाउन खोजेको बुझिन्छ ।
चलचित्र ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । डा. कपिल रिजाल निर्देशित चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिनेछन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी सम्बन्धको प्रतीकात्मक कथा प्रस्तुत गर्नेछ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन् । सुमन गिरी र डा. कपिल रिजाल निर्माता हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको भूमिकामा छन् । छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी। कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ ।