नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत दुवै फिल्म एकैसाथ दर्शकमाझ पुगेका हुन् ।
ड्रामा विधामा निर्माण गरिएको ‘एक मुठ्ठी बादल’ ११७ मिनेट अवधिको चलचित्र हो । यूनिभर्सल सर्टिफिकेट प्राप्त यस फिल्ममा विवाहको तयारी चलिरहेकै बेला एक परिवारभित्र वर्षौंदेखि दबिएका भावना, प्रेम र अपेक्षाको कथा प्रस्तुत गरिएको छ। परिवारमा घट्ने अप्रत्याशित घटनाले सम्बन्धमा आउने उतारचढावलाई भावनात्मक रूपमा चित्रण गरिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक तथा सहयोग अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्देशन सहारा शर्माले गरेकी हुन् भने अभिमन्यु दीक्षित, सारा फजिलत, सामिप्यराज तिमल्सेना र अनुप पौडेल निर्माता रहेका छन् ।
त्यसैगरी, ‘लाइफ ड्यामेज’ पनि ड्रामा जनरामै निर्माण गरिएको ११७ मिनेट लामो चलचित्र हो। युवा पुस्ताको मित्रता, सम्बन्ध, आधुनिक जीवनका चुनौती र भावनात्मक उतारचढावलाई हास्य–व्यंग्य शैलीमा प्रस्तुत गरिएको फिल्मले समकालीन युवाको जीवनशैलीलाई मुख्य विषय बनाएको छ ।
चलचित्रमा सुरक्षा पन्त, निमेश श्रेष्ठ, ईशा थापा र अमोघ अर्याललगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्देशन निमेश श्रेष्ठले गरेका हुन्। ‘लाइफ ड्यामेज’ फन रिभोलुसन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।
फरक कथावस्तु र प्रस्तुति शैली बोकेका यी दुई चलचित्रले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउनेछन् भन्ने विषयमा अहिले चासो बढेको छ । यसअघि प्रदर्शनमा आएका अन्य नेपाली तथा विदेशी फिल्महरू पनि अहिले सिनेमा हलमा चलिरहेका छन् ।