नेपाली चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाइरहेको निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै दर्शकमाझ यसको कथा र विषयवस्तुबारे झलक प्रस्तुत गरेको हो ।
सार्वजनिक ट्रेलरमा बालमनोविज्ञानलाई केन्द्रमा राखिएको देखिन्छ । छोराले राम्रो पढाइ गरेर गाउँमा परिवारको इज्जत बढाओस् भन्ने बुवाको चाहना र अर्कोतर्फ छोराको फरक रुचिबीचको द्वन्द्वलाई ट्रेलरले भावनात्मक ढंगले प्रस्तुत गरेको छ । परिवारको अपेक्षा पूरा गर्न खोज्दा पनि आफ्नो चाहना र रुचि नहुँदा विद्यार्थीले भोग्नुपर्ने मानसिक दबाब ट्रेलरमा देखाइएको छ ।
ट्रेलरले आर्थिक अवस्था कमजोर भएकै कारण विद्यार्थीहरू छात्रवृत्तिबाट वञ्चित हुने यथार्थ पनि उजागर गरेको छ। समाजमा केवल ‘पहिलो हुने’लाई मात्र सम्मान गरिने प्रवृत्ति, गरिबीले सिर्जना गर्ने पीडा तथा पुरानो सोचले निम्त्याएको पारिवारिक र सामाजिक द्वन्द्वलाई समेत चलचित्रले समेटेको देखिन्छ ।
विनोद पौडेलको निर्माण रहेको यो चलचित्रले विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले बालबालिकामा पारिरहेको नकारात्मक प्रभावलाई मुख्य विषय बनाएको निर्माणपक्षले जनाएको छ । साथै, यस्तो मानसिक दबाबले बालबालिकाको समग्र जीवनमा पार्ने असरलाई पनि सिनेमामा उठाइएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारतर्फ निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ ।
चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । महेश दवाडीले लेखेको चलचित्रको डीओपी शिवराम श्रेष्ठ हुन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, फिरोड खड्काको चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन तथा मनोज जोशीको प्रोडक्सन हेडको भूमिका रहेको छ। चलचित्र सम्पादन मदन घिमिरेले गरेका हुन् ।
निर्माता पौडेलका अनुसार ‘रोल नं १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ। चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले गर्नेछन् ।