नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र सकारात्मक प्रतिक्रियासहित चलचित्रले सफल प्रदर्शन गरिरहेको निर्माण टिमले जनाएको छ । पहिलो सातादेखि नै चलचित्रले बलियो ‘वर्ड अफ माउथ’ पाउन सफल भएको छ ।
दोस्रो साताको प्रदर्शन तथा डायस्पोरा रिलिजलाई लक्षित गर्दै निर्माण पक्षले ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । रामकृष्ण ढकालको स्वर रहेको गीतमा गोपाल अधिकारीको शब्द रचना तथा हरि लम्सालको संगीत रहेको छ । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । चलचित्रको भावनात्मक कथालाई अझ सशक्त बनाउने विश्वास निर्माण टिमले लिएको छ ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेयकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् । चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सहनिर्माताका रूपमा रहेका छन् ।