निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘जलाकी’को छायांकन सम्पन्न भएको छ । ३९ दिनसम्म निरन्तर गरिएको छायांकन पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै सकिएको हो ।
निर्देशक अशोकका अनुसार अहिले फिल्मको पोस्ट–प्रोडक्सन कार्य सुरु भइसकेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगरलगायत कलाकारको अभिनय रहेको छ । फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले अभिनयमा डेब्यु गर्दैछिन् ।
मगर समुदायको आस्थासँग जोडिएको ‘जलाकी’ शब्दले सम्झना र मायाको प्रतीकका रूपमा बनाइने ढुंगाको स्तम्भलाई जनाउँछ । सोही विषयवस्तुमा आधारित फिल्म रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।