निर्देशक निर शाह नयाँ चलचित्र ‘कमला मिस’ लिएर निर्देशनमा फर्किएका छन् । साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चासो बढेको हो । पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई मनोवैज्ञानिक भावमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथा रहस्यमय र संवेदनशील हुने संकेत गरेको छ । निर्माण टिमले चलचित्रको टिजर बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रमा निर शाह स्वयंको अभिनय रहेको छ भने रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडाको पनि अभिनय रहेको छ । चलचित्र विजय मल्लको कथामा आधारित रहेको छ भने पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले तयार पारेका हुन् ।
उमा मल्लको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् । एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने ‘कमला मिस’ले नेपाली दर्शकलाई फरक शैलीको मनोवैज्ञानिक कथा दिने निर्माण पक्षको विश्वास छ ।