नेपाली गीत–संगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ । अवार्डको आयोजना यस वर्ष पनि स्टार वान इन्टरटेनमेन्टले गर्ने जनाएको छ ।
आयोजकका अनुसार सन् २०२५ जनवरीदेखि सन् २०२६ मे अन्तिमसम्म सार्वजनिक भएका गीत तथा म्युजिक भिडियोले अवार्डमा सहभागिता जनाउन पाउनेछन् । गीत–संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाडपर्व, भाषाभाषी, भेग विशेष तथा भजन विधाका सिर्जनाहरू समावेश गरिनेछ । गीतसँगै म्युजिक भिडियो निर्माण टिमले पनि प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएको छ ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न विशेष सम्मानसमेत प्रदान गरिनेछ । संगीत, मोडलिङ तथा फेसन क्षेत्रमा दीर्घ योगदान पुर्याएकालाई ‘आजीवन योगदान सम्मान’ सहित विशेष सम्मान दिइने बताइएको छ ।
फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट होस्ट, फेसन आइकन, फोटोग्राफरलगायत विभिन्न विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार अवार्डका लागि ५ जेठदेखि आवेदन फारम खुला गरिएको छ । सहभागी हुन इच्छुकले आगामी १३ असारभित्र फारम भरिसक्नुपर्नेछ । फारम स्टार वान इन्टरटेनमेन्टको नयाँ बानेश्वरस्थित कार्यालय तथा एसपी क्रियसन प्रालि, पुतलीसडकबाट प्राप्त गर्न सकिनेछ ।
अवार्ड समारोह असारको अन्तिम साता आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।