चलचित्र विकास बोर्डले विभिन्न विधामा सक्रिय चलचित्रकर्मीलाई आधिकारिक परिचयपत्र वितरण गरेको छ । बोर्ड परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष दिनेश डीसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् । पहिलो चरणमा १२२ जना सर्जकलाई मानार्थ, विशेष, विशिष्ट र चलचित्रकर्मी गरी चार श्रेणीमा वर्गीकरण गरेर परिचयपत्र प्रदान गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परिचयपत्र वितरण केवल औपचारिक प्रक्रिया नभई चलचित्रकर्मीको पहिचान, अभिलेखीकरण र राज्यसँगको सम्बन्धलाई संस्थागत गर्ने प्रयास हो । कार्यक्रममा कलाकार, निर्देशक, निर्माता, छायाकार, संगीतकार, लेखक, गीतकार, सम्पादक, नृत्य निर्देशक, द्वन्द्व निर्देशकलगायत विभिन्न विधाका सर्जक सहभागी थिए ।
मानार्थ श्रेणीअन्तर्गत वरिष्ठ निर्देशक तुलसी घिमिरे, अभिनेत्री निरुता सिंह र नृत्य निर्देशक कमल राईलाई ‘विशिष्ट चलचित्रकर्मी’का रूपमा सम्मानसहित परिचयपत्र प्रदान गरियो । विशेष श्रेणीमा निर्देशक मिलन चामलिङ राईलाई परिचयपत्र दिइएको थियो । त्यस्तै विशिष्ट र चलचित्रकर्मी श्रेणीमा वरिष्ठदेखि नयाँ पुस्तासम्मका ११८ जना सर्जक समेटिएका छन् ।
कार्यक्रममा अध्यक्ष दिनेश डीसीले सर्जकहरूको सुझाव र प्रतिक्रियाले बोर्डलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चलचित्रकर्मीको पेसागत मर्यादा, हकहित र आधिकारिक पहिचानलाई संस्थागत गर्दै लैजाने प्रतिबद्धता पनि जनाए ।
बोर्डले आगामी चरणमा थप चलचित्रकर्मीलाई पनि परिचयपत्र वितरण गर्ने तयारी गरेको जनाएको छ । साथै, परिचयपत्रलाई भविष्यमा चलचित्रकर्मीको सहुलियत, हकहित संरक्षण र राज्यसँगको औपचारिक सम्पर्कको आधारका रूपमा विकास गर्ने योजना अघि बढाइएको बोर्डको भनाइ छ ।