नेपाली चलचित्र ‘गौँथली’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको मुख्य कथावस्तुलाई उजागर गर्दै एक महिलाले वैवाहिक जीवनमा भोग्नुपरेको पीडा, आमाको माया र पारिवारिक सम्बन्धका जटिल पक्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।
टिजरमा आफ्नी छोरीको सुखी घर–संसारको सपना देख्ने आमाको प्रयास र विवाहपछि छोरीले भोग्नुपरेका कठिन परिस्थितिहरूलाई केन्द्रमा राखिएको छ । पढाइलाई निरन्तरता दिने चाहना हुँदाहुँदै कम उमेरमै विवाह गर्न बाध्य भएकी युवतीले आफूले विश्वास गरेको श्रीमान् अपेक्षाविपरीत निस्किएपछि भोग्नुपरेको मानसिक तथा सामाजिक संघर्षलाई टिजरले मार्मिक रूपमा चित्रण गरेको छ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । उनीहरूको पात्रमार्फत वैवाहिक सम्बन्ध, परिवारभित्रको व्यवहार र महिलाको संघर्षलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ। साथै, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि चलचित्रमा देखिएका छन् ।
डा. कपिल रिजाल निर्देशित चलचित्रको कथा डा. भोला रिजालले तयार गरेका हुन्। पटकथा तथा संवाद लेखनमा निर्देशक रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ । निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी आत्मीयताको प्रतीकात्मक अर्थ बोकेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता हुन् । शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा एलिस कार्कीको पाश्र्व संगीत रहेको छ । हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो गीति (म्युजिकल) चलचित्र मानिन्छ । अहिले सोही नामलाई निरन्तरता दिँदै उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका लागि फरक कथासहित ‘गौँथली’ निर्माण गरेका हुन् । यस चलचित्र आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको हो ।