अभिनेता जितु नेपालको निर्माणमा तयार भएको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको थियो । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरले गाउँबाट ठूला सपना बोकेर सहर पुगेका एक युवाको कलाकार बन्ने संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ट्रेलरमा जितु नेपाल फरक भूमिकामा देखिएका छन् । उनले अभिनय क्षेत्रमै आफ्नो भविष्य खोज्दै अघि बढ्ने युवाको चरित्र निर्वाह गरेका छन् ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा निर्माण भएको चलचित्रमा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन् । यसअघि सार्वजनिक गरिएको टिजरले पनि दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माण टिमले जनाएको छ ।
चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल र अन्सु महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको चलचित्रको पोस्ट–प्रोडक्सन कार्य भारतमा सम्पन्न गरिएको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।
तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म आफ्नो अलग पहिचान बनाएका जितु नेपालका लागि ‘आइ एम जीत बहादुर’ विशेष परियोजनाका रूपमा रहेको बताइएको छ । कलाकार बन्ने सपना बोकेका युवाको संघर्ष, आत्मविश्वास र सफलताको यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढ्दै गएको छ ।