म्युजिकल सर्ट फिल्म ‘तिमी एक-रहस्य’ मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । आर.बी. पुनको अवधारणामा तयार गरिएको गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर रहेको छ । गीतका शब्द प्रताप शाहीले लेखेका हुन् भने सङ्गीत सुवास पुन मगरले भरेका छन् ।
सार्वजनिक भिडियोले सामाजिक र पारिवारिक कथालाई भावनात्मक र कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। फेसबुकबाट सुरु हुने प्रेमकथा, पारिवारिक तथा आर्थिक वर्गीय अन्तर, गाउँ र सहरबीचको परिवेश तथा सामाजिक यथार्थलाई भिडियोमा प्रभावकारी रूपमा उतारिएको छ ।
उत्तम हुमागाईँको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा सम्पादन हरि हुमागाईँले गरेका छन् । भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्लेको अभिनय देख्न सकिन्छ ।
नर्वेमा रहेका नेपाली युवाहरूको संस्था धड्कन नेपाल ग्रुप ले गीतको निर्माण गरेको हो । मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको निर्माण टोलीले गीत सार्वजनिक गर्नुअघि भक्तपुरस्थित सहारा केयर सेन्टर मा आश्रित ज्येष्ठ नागरिकहरूलाई आर्थिक सहयोग प्रदान गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निर्देशक हरि हुमागाईँ, कलाकार आशीर्वाद क्षेत्री, चेतना काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
धड्कन नेपाल ग्रुपका संस्थापक सुवास पुन मगर र प्रताप शाही हुन् । नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्षसमेत छन् ।
यस परियोजनाका व्यवस्थापक दिपेन गौतम तथा कार्यकारी निर्माता भगवान भुजेल हुन् । भिडियोको रङ्ग संयोजन प्रवीण मानन्धरले गरेका छन् । धड्कन नेपाल ग्रुपको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘नौ डाँडा काटेर’ ले कला र सामाजिक सेवाको सन्तुलित संयोजन प्रस्तुत गरेको निर्माण पक्षको विश्वास छ । दर्शक तथा श्रोतामाझ गीतले सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा समेत गरिएको छ ।