चलचित्र विकास बोर्डको सहकार्य तथा आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा काठमाडौँस्थित बोर्डको सभाहलमा आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने नारासहित सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले मैनबत्ती प्रज्वलन गरेर गरेका थिए । उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित नभई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, लोकज्ञान र सांस्कृतिक पहिचानलाई दृश्य–श्रव्य माध्यममार्फत संरक्षण र प्रवर्द्धन गर्ने अभियानका रूपमा आयोजना गरिएको हो ।
महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी र राजवंशी समुदायसँग सम्बन्धित कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् । पहिलो दिन सागर केरुङको ‘तङसिङ’, निमा लामा तामाङको ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेलको ‘निको पहिचान’ प्रदर्शन गरिएको थियो ।
त्यसैगरी ‘रीत’, ‘स्वयनगु’, ‘ङोल्स्यो रामरानी’ र ‘दिलसरा’ कथानक चलचित्रका रूपमा प्रदर्शन हुनेछन् भने ‘दुखला ग्यम’, ‘जाइछै सौसरा’ र ‘लाहुरेनी’ लघु चलचित्र पनि महोत्सवमा समावेश छन् । वृत्तचित्रतर्फ ‘आग्रे’, ‘लदि पूजा’ तथा एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ ।
महोत्सवको समापनमा उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता–अभिनेत्री, छायांकन, वृत्तचित्र, लघु चलचित्रसहित विभिन्न विधामा पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।