चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा विदेश च्याप्टर गठन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । नेपाली चलचित्र, कला, साहित्य तथा सांस्कृतिक गतिविधिको विश्वव्यापी विस्तारलाई संस्थागत रूप दिन संघले यो पहल थालेको जनाएको छ ।
हालै सम्पन्न कार्यसमिति बैठकले अमेरिका, क्यानडा, जापान, युरोप, अष्ट्रेलिया, बेलायत र कतारमा च्याप्टर गठनका लागि संयोजकहरू तोकेको छ । अमेरिकामा किसन रेग्मी, क्यानडामा श्याम अर्याल, जापानमा उत्तम गौडेल, युरोप क्षेत्रमा मणिराज गौतम, अष्ट्रेलियामा दीपेन्द्र घिमिरे, बेलायतमा दीपश्न लुईटेल तथा कतारमा कमल साउदलाई जिम्मेवारी प्रदान गरिएको छ ।
संघका अध्यक्ष समीर बलामीले विदेशमा नेपाली चलचित्र, संगीत, साहित्यिक तथा सांस्कृतिक गतिविधि बढ्दै गएको र नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारसमेत तीव्र बनेकाले यस्तो सञ्जाल आवश्यक भएको बताए । उनका अनुसार विदेश च्याप्टरले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, बजार विस्तार, सहकार्य र सांस्कृतिक कूटनीतिमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ ।
यसअघि दुबईमा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय च्याप्टर गठन भइसकेको छ । महासचिव गोपिकृष्ण चापागाईका अनुसार आगामी एक वर्षभित्र तोकिएका सबै देशमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य रहेको छ। संघले यस पहललाई नेपाली चलचित्र पत्रकारिताको इतिहासमा नयाँ अध्यायका रूपमा व्याख्या गर्दै प्रवासमा रहेका नेपाली सर्जक र सांस्कृतिक क्षेत्रसँग संस्थागत सम्बन्ध विस्तार गर्ने दीर्घकालीन रणनीति भएको जनाएको छ ।