नेपाली सांगीतिक बजारमा गायिका सृजना खत्री ‘हाउडेमाया’को नयाँ गीत ‘फूलमाया’ सार्वजनिक गरिएको छ । ‘हाउडेमाया’कै स्वर, शब्द र संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन तथा मनोज परियारको ध्वनि सम्पादन रहेको छ भने आयुस प्रतीकको र्याप पनि समावेश गरिएको छ ।
सृजना खत्री हाउडेमाया युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा सृजनासँगै दिपा शाही, सृजन खरेल र दिलीप शाहको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् भने छायांकन रूपेश थापाले गरेका छन् ।
युवापुस्तालाई लक्षित गरी तयार गरिएको गीतप्रति दर्शक–श्रोताको साथ र माया प्राप्त हुने अपेक्षा सृजनाले व्यक्त गरेकी छन् । यसअघि सार्वजनिक भएको उनको ‘एक नम्बर हरामी (भूपू माया) गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्युज बटुलेको थियो ।
एक दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय हाउडेमायाका ‘नौटङ्की माया’, ‘डबल माया’, ‘एक्सको छम्मा’, ‘लाहुरे माया’, ‘सिकारी नारी’ र ‘यस्तो हुन्छ माया’ लगायत गीत चर्चित छन् । हालसम्म करिब दुई दर्जन गीत तथा म्युजिक भिडिओ सार्वजनिक गरिसकेकी उनले नेपालसहित बेलायत, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया, बहराइन र सिंगापुरलगायत विभिन्न देशमा पनि सांगीतिक प्रस्तुति दिइसकेकी छन् ।