निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माण टिमले फिल्मको छायांकन सम्पन्न भएको जानकारी दिँदै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
फिल्मको अन्तिम दृश्य गत साता काठमाडौंको धर्मस्थली क्षेत्रमा खिचिएको थियो । दुई चरणमा सम्पन्न गरिएको छायांकन ४५ दिनमा पूरा भएको निर्माण पक्षले जनाएको छ ।
प्रदर्शन मिति घोषणा गर्दै फिल्मका मुख्य अभिनेता मुकुन भुषालको नयाँ क्यारेक्टर लुक्स पनि सार्वजनिक गरिएको छ । सार्वजनिक तस्वीरमा उनी साडी र चौबन्दी चोलोमा सजिएर काखमा बच्चा बोकेको अवस्थामा देखिएका छन् । गलामा पोते र निधारमा टिका लगाएको उनको फरक प्रस्तुतिले दर्शकमाझ फिल्मबारे चासो बढाएको छ ।
आहा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मुकुन भुषालसँगै धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, मेनुका माझी, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, केशव रिजाल, रामहरी खड्का, काजल भुजेल र दीपक थापालगायत कलाकारहरूको अभिनय रहेको छ ।
कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माताको रूपमा रहेका फिल्ममा सौरभ वली प्रस्तुतकर्ता तथा दिनेशराज बुढाथोकी कार्यकारी निर्माता छन् । निर्देशक सानेकै लेखन रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । महिलाप्रधान कथावस्तुमा आधारित फिल्मले समाजका विविध पक्षलाई उठान गर्ने अपेक्षा गरिएको छ ।