नेपाली चलचित्र ‘स्त्री’को निर्माण कार्य सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले बुधबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा ल्याइने जानकारी दिएको हो ।
समीर राईको निर्माण तथा जीवन शाहीको निर्देशनमा तयार भएको चलचित्रको पोस्टरमा अधिकांश कलाकारहरू फरक–फरक अवतारमा प्रस्तुत भएका छन् । टौवा क्रियशनले डिजाइन गरेको पोस्टरको पृष्ठभूमिमा रातो रंगको प्रयोग गरिएको छ, जसले चलचित्र सस्पेन्स थ्रिलर कथामा आधारित रहेको संकेत गर्छ ।
चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका रहेको छ । साथै सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाईं, कल्पना श्रेष्ठ र समीर लामा लगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
‘स्त्री’लाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । चलचित्रमा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन तथा शंकर महर्जनको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र एलिस कार्कीको पृष्ठभूमि संगीत रहेको छ ।