नेपाली चलचित्र ‘हली’को तेस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रले रिलिज मिति नजिकिँदै जाँदा प्रचार–प्रसारलाई तीव्र बनाएको छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्र वास्तविक घटनाबाट प्रेरित कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एक जना हली श्रमजीवीको योगदान पनि महत्वपूर्ण हुन सक्छ भन्ने सन्देश चलचित्रले प्रस्तुत गर्ने विश्वास गरिएको छ ।
सार्वजनिक पोस्टरमा ग्रामीण जीवन, कृषि संस्कार र श्रमजीवी वर्गको संघर्षलाई चित्रण गरिएको छ । काँधमा हलो बोकेको पुरुष, नाम्लो–डोको बोकेकी महिला तथा पृष्ठभूमिमा देखिएको पहाडी बस्तीले नेपाली ग्रामीण परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
चलचित्रको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन् । चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ भने निर्देशक ओम प्रतिक स्वयं पनि मुख्य भूमिकामा देखिनेछन् ।
कार्यकारी निर्माता अर्जुन भुसाल रहेको चलचित्रमा नम्रता भण्डारी सह–निर्मात्री, लक्ष्मण बज्राचार्य लाइन प्रोड्युसर तथा जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत चलचित्रमा समावेश छ ।
निर्माता जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र शान्ति श्री परियारको स्वर सुन्न पाइनेछ । कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रा.लिले गर्नेछ भने ओएसआर डिजिटल पार्टनरका रूपमा रहेको छ ।