छायाँछवि क्रियशनद्वारा विगत १७ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ‘डी सिने अवार्ड’ नेपाली चलचित्रको प्रवद्र्धन तथा चलचित्रकर्मीहरूको सम्मानका लागि स्थापित प्रतिष्ठित अवार्ड कार्यक्रममध्ये एक हो । नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा योगदान पु¥याउने कलाकार, प्राविधिक, स्रष्टा तथा चलचित्रकर्मीहरूलाई सम्मानित गर्दै आएको यस अवार्डले चलचित्र उद्योगलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
डी सिने अवार्ड आयोजक समितिको निर्णयअनुसार यस वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने भएको छ । साथै, वर्ष २०८१ मा प्रदर्शन भएका चलचित्र तथा तिनमा आबद्ध कलाकार, प्राविधिक र स्रष्टाहरूलाई विभिन्न प्रतिस्पर्धात्मक विधामार्फत उत्कृष्टता पुरस्कार प्रदान गरिनेछ ।
यस वर्षको अवार्ड समारोहमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान निर्देशक ज्ञानेन्द्र देउजा तथा अभिनेत्री निरुता सिंह लाई प्रदान गरिने निर्णय गरिएको छ । त्यसैगरी रु. १५,५५५ सहित रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट रंगपत्रकार सचित खड्का पुरस्कृत हुनेछन् ।
अवार्ड समारोहमा चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्व, कलाकार, निर्देशक, निर्माता, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ । नेपाली चलचित्र उद्योगलाई थप व्यवस्थित, सशक्त तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
पुरस्कार तथा सम्मान दिइने जानकारी छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।