नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा पहिलोपटक भव्य सांगीतिक प्रस्तुति दिँदै प्रवासी नेपाली दर्शकमाझ अविस्मरणीय छाप छोडेको छ। साढे तीन दशक लामो सांगीतिक यात्रामा पहिलोपटक मलेसियामा पुगेको ब्यान्डले आइतबार साँझ पर्यटकीय क्षेत्र बुकित बिन्ताङस्थित जेप हलमा आफ्नो बहुप्रतीक्षित कन्सर्ट सम्पन्न गरेको हो।
साँझ ठीक ७ बजे ‘कोशीको पानी’ गीतबाट सुरु भएको कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाएको थियो। प्रस्तुतीका क्रममा गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै देशप्रेम, संस्कृति र नेपालको विविधताको विषयमा आफ्ना अनुभव सुनाएका थिए। गीत संकलनका क्रममा देशका विभिन्न भूभाग पुग्दा नेपाललाई नजिकबाट चिन्न पाएको उल्लेख गर्दै उनले स्वदेश फर्किँदा ती स्थानहरू अवश्य भ्रमण गर्न दर्शकलाई आग्रह गरे।
कन्सर्टमा मलेसियासहित सिंगापुर लगायत विभिन्न देशबाट आएका नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सिंगापुरबाट विशेष रूपमा कन्सर्ट हेर्न आएका रेस्टुरेन्ट व्यवसायी पदम थापाले नेपथ्यका गीतमा नेपालको विविध संस्कृति झल्किने भएकाले आफू टाढाबाट समेत कार्यक्रम हेर्न आएको बताए। उत्कृष्ट व्यवस्थापन र स्तरीय प्रस्तुतिले कन्सर्ट अझ स्मरणीय बनेको उनको भनाइ थियो।
कार्यक्रममा मलेसियास्थित नेपाली दूतावासकी उपप्रमुख ९चार्ज डि अफेयर्स० मुदिता बज्राचार्य पनि सहभागी थिइन्। उनले नेपथ्यको प्रस्तुति हेर्दा नेपाली भाषा, शब्द र संगीतले पुराना सम्झना ताजा गराएको बताइन्। विदेशमा रहेर काम गरिरहँदा नेपथ्यजस्ता ब्यान्डले दिने सांस्कृतिक गर्व र देशप्रेमका सन्देशले आत्मसम्मान बढाएको अनुभव उनले व्यक्त गरिन्।
दर्शकमध्ये क्वालालम्पुरस्थित लिंकन विश्वविद्यालयमा अध्ययनरत सिमरन सेढाईंका लागि पनि कन्सर्ट विशेष रह्यो। बाल्यकालदेखि नेपथ्यका गीत सुन्दै हुर्किएकी उनले अमृत गुरुङलाई नजिकबाट देख्दै ‘यो जिन्दगानी’ सुन्न पाउँदा भावुक बनेको बताइन्। परिवारबाट पाएको प्रेरणाले नै आफू संगीततर्फ आकर्षित भएको उनले सुनाइन्।
झण्डै दुई घण्टा लामो कन्सर्टको समापन ‘रातो र चन्द्रसूर्य’ गीतमार्फत गरिएको थियो। कार्यक्रम सम्पन्न भएपछि जापानस्थित ‘जेप समूह’ अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको रंगमञ्च ‘जेप क्वालालम्पुर’का निर्देशक सिनिचिरो होन्डाले नेपाली मौलिकतालाई विश्वस्तरीय प्रस्तुतीकरणसँग जोड्न नेपथ्य सफल भएको प्रतिक्रिया दिए। संगीतदेखि व्यवस्थापनसम्म सम्पूर्ण कार्यक्रम उच्चस्तरीय रहेको उनको भनाइ थियो।
स्थानीय आयोजक ‘आर्बिटरी इभेन्ट्स’ले पनि कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गर्दै दर्शकले सुखद सम्झना लिएर फर्किएको जनाएको छ। कन्सर्टमा अमृत गुरुङलाई ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मीले साथ दिएका थिए।
नेपथ्यका लागि मलेसिया सांगीतिक प्रस्तुति दिएको २०औँ मुलुक तथा क्वालालम्पुर ५८औँ विदेशी सहर बनेको छ। मलेसियामा आयोजित एकमात्र कन्सर्ट सम्पन्न गरेपछि ब्यान्ड स्वदेश फर्किएको छ।