प्रदर्शनरत चलचित्र ‘रोल नं १’ले नयाँ गीत ‘रंगीन सपना’ सार्वजनिक गरेको छ । चलचित्र प्रदर्शनको दोस्रो सातामा प्रवेश गरिरहँदा निर्माण टिमले दर्शकमाझ यो भावनात्मक गीत ल्याएको हो ।
उज्ज्वल सागरको स्वर र संगीत रहेको गीतमा रोशन अधिकारीको शब्द सिर्जना छ । गीतले उज्ज्वल भविष्यको आकांक्षा, त्यसका लागि देखिने सपना र निरन्तर मेहनतको सन्देश प्रस्तुत गरेको छ । विशेषगरी सन्तानको सफलतामा खुसी हुने र दुःखमा समान रूपमा पीडा महसुस गर्ने अभिभावकको भावनालाई गीतमार्फत अभिव्यक्त गरिएको छ।
गीतमा सन्तानको भविष्यप्रति चिन्तित रहने बाबुआमाको मनोविज्ञानलाई समेटिएको छ । जीवनमा सुख र दुःख दुवै अविभाज्य पक्ष भएको यथार्थ प्रस्तुत गर्दै गीतले कठिन परिस्थितिबीच पनि आशा र सपनालाई जीवित राख्नुपर्ने सन्देश दिन्छ । साथै, सन्तानको सामान्य उपलब्धिलाई पनि अभिभावकले ठूलो सफलताका रूपमा हेर्ने भावनात्मक पक्षलाई गीतमा चित्रण गरिएको छ ।
सार्वजनिक भिडियो चलचित्रकै दृश्यहरू समावेश गरेर तयार गरिएको छ, जसमा मुख्य कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रका कलाकार तथा निर्माण टिम अहिले विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन् ।
जोन योञ्जन निर्देशित चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको प्रमुख भूमिका छ। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्मित चलचित्रका सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । चलचित्रको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन् भने छायांकन निर्देशक (डीओपी) शिवराम श्रेष्ठ रहेका छन् ।