काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त सहकार्यमा एक महिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सुरु गरिएको छ । महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनाअन्तर्गत सञ्चालन गरिएको उक्त तालिमले युवाहरूलाई सिर्जनशील तथा व्यावसायिक सीप प्रदान गर्ने लक्ष्य राखेको छ ।
चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत आयोजना गरिएको तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारिताका आधारभूत र व्यवहारिक पक्षबारे प्रशिक्षण दिइनेछ । तालिममार्फत सहभागीहरूलाई स्वरोजगारका अवसर सिर्जना गर्नुका साथै सञ्चार र चलचित्र क्षेत्रमा प्रवेशका लागि आवश्यक दक्षता विकास गर्ने अपेक्षा गरिएको छ ।
प्रशिक्षणका क्रममा क्यामेरा सञ्चालन, फोटो कम्पोजिसन, प्रकाश व्यवस्थापन, फोटो स्टोरी निर्माण, भिडियो रिपोर्टिङ तथा व्यवहारिक पत्रकारिताका विविध पक्षमा प्रशिक्षण प्रदान गरिनेछ । यसले सहभागीहरूलाई आधुनिक सञ्चार तथा दृश्य–कलासम्बन्धी ज्ञान र सीप हासिल गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रतिनिधि, चलचित्र विकास बोर्डका पदाधिकारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महानगरपालिकाका प्रतिनिधिले तालिमको उद्देश्य र यसको दीर्घकालीन प्रभावबारे जानकारी गराएका थिए भने चलचित्र विकास बोर्डका तर्फबाट चलचित्र, सञ्चार तथा दृश्य–कला क्षेत्रमा यस्ता कार्यक्रमको महत्वबारे चर्चा गरिएको थियो ।
तालिममा वरिष्ठ फोटोग्राफर प्रदीपराज वन्त, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल तथा वरिष्ठ पत्रकार एवं फोटोग्राफर श्रीधर पौडेलले प्रशिक्षण दिनेछन् । पहिलो दिनको कार्यक्रम औपचारिक उद्घाटन, तालिमको रूपरेखा प्रस्तुति तथा प्रशिक्षार्थीहरूको परिचयात्मक सत्रसँगै सम्पन्न भएको थियो ।
चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तालिमले नयाँ पुस्तालाई प्राविधिक रूपमा सक्षम बनाउँदै चलचित्र तथा सञ्चार क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।