नेपाली लोकसंगीत र संस्कृतिको प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा क्लबले सांगीतिक मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै तीनदिने विशेष सांगीतिक महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।
आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा सञ्चालन हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरी गायिका टीका सानुसम्मका लोकप्रिय कलाकारहरू एउटै मञ्चमा उत्रने तयारीमा छन् ।
क्लबले वार्षिकोत्सवलाई केवल मनोरञ्जनमूलक कार्यक्रममा सीमित नराखी सामाजिक सेवासँग पनि जोडेको छ । यस क्रममा दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूलाई वार्षिक रूपमा आर्थिक सहयोग प्रदान गर्ने योजना सार्वजनिक गरिएको छ । क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा सहभागी भई दृष्टिविहीन कलाकारहरूको संस्थालाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।
कुँवरका अनुसार क्लबले आगामी वर्षहरूमा पनि आफ्नो आम्दानीको निश्चित हिस्सा सामाजिक कार्यमा खर्च गर्नेछ । उनले कलाकार, कर्मचारी तथा शुभेच्छुकहरूको निरन्तर सहयोगकै कारण संस्था १८ वर्षसम्म सफलतापूर्वक सञ्चालन हुन सकेको उल्लेख गर्दै न्यूनतम ५० हजार रुपैयाँ हरेक वर्ष दृष्टिविहीन तथा आर्थिक रूपमा कमजोर कलाकारहरूको सहयोगमा प्रदान गरिने बताए ।
तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन जेठ २९ गते प्रेमराजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति रहनेछ । जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्त रानी परियारले सांगीतिक माहोल तताउनेछन्। त्यस्तै, अन्तिम दिन जेठ ३१ गते विश्व दोङ र टीका सानुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने कार्यक्रमका सहभागी दर्शकले सांगीतिक मनोरञ्जनका साथै विभिन्न छुट तथा विशेष सहुलियत सुविधासमेत प्राप्त गर्नेछन् ।
विगत १८ वर्षदेखि नेपाली लोकसंगीत, कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धनमा योगदान दिँदै आएको दरबार रोधी क्लबले थुप्रै कलाकारलाई व्यावसायिक मञ्च उपलब्ध गराउँदै सांगीतिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।