नयाँ नेपाली चलचित्र ‘टिका: स्टेटलेस सोल’को छायांकन सुरु भएको छ । चलचित्रको सुटिङ आइतबारदेखि कास्की जिल्लाको पामेबाट औपचारिक रूपमा प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ ।
४० दिनको कार्यतालिकासहित निर्माणमा गएको चलचित्रको अधिकांश छायांकन गण्डकी प्रदेशमै हुनेछ । निर्माण टिमका अनुसार कास्की जिल्लामा मात्रै ३० दिनसम्म सुटिङ गरिनेछ भने बाँकी दृश्यहरू काठमाडौं लगायतका विभिन्न स्थानमा खिचिनेछन् ।
कार्यकारी निर्माता तेजबिक्रम केसीका अनुसार चलचित्रको छायांकन पोखरा, पामे, सराङकोट, निरभाने लगायतका रमणीय स्थानहरूमा गरिनेछ । कास्कीका प्राकृतिक तथा पर्यटकीय स्थलहरूले चलचित्रको कथालाई थप प्रभावकारी र जीवन्त बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।
शंकर कार्कीको निर्देशनमा बन्न लागेको ‘टिका स् स्टेटलेस सोल’लाई महिला केन्द्रित कथावस्तुमा आधारित चलचित्रका रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा आकाश उखेडा र जीवन ढुंगेल मुख्य सहायक निर्देशकको भूमिकामा रहेका छन् ।
चलचित्रमा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल तथा आयुषी ढकालको अभिनय रहनेछ । नरेन्द्र मैनालीले चलचित्रको छायांकन सम्हालिरहेका छन् ।
शंकर कार्की र चन्दन झाले तयार पारेको कथामा आधारित चलचित्रको पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बिटी कान्छा)ले निर्वाह गरेका छन् । चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ ।
भविष्य फिल्मस् प्रा. लि र थर्ड आई आर्ट्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता भविष्य खड्का हुन् । चलचित्रलाई आगामी तीज पर्वको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा ल्याइने तयारी गरिएको छ ।