चलचित्र विकास शुल्क संकलन तथा व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा मोरङ, सुनसरी, झापा, सिराहा, सप्तरी (राजविराज), उदयपुर, पाँचथर र धनकुटा जिल्लाका सिनेमा हलका प्रतिनिधिहरू सहभागी भएका थिए । बोर्डका अनुसार कोशी र मधेस प्रदेशअन्तर्गत रहेका करिब ३६ वटा सिनेमा हलका प्रतिनिधिको कार्यक्रममा उपस्थिति रहेको थियो ।
तालिमका क्रममा चलचित्र विकास शुल्कसम्बन्धी प्रचलित कानुनी व्यवस्था, शुल्क कार्यान्वयनको वर्तमान अवस्था, नियमन प्रणाली तथा चलचित्र विकास शुल्क पोर्टलको प्रयोगबारे सैद्धान्तिक र व्यवहारिक जानकारी प्रदान गरिएको थियो। साथै पोर्टलमार्फत शुल्क व्यवस्थापन, अभिलेखीकरण र प्रतिवेदन प्रणाली सञ्चालन गर्ने विषयमा पनि सहभागीहरूलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यसअघि कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती प्रदेश तथा काठमाडौं उपत्यकाका सिनेमा हलहरूमा समेत यस्तै प्रकृतिका तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेका छन् । बाँकी रहेका सिनेमा हलका प्रतिनिधिहरूलाई चालु आर्थिक वर्षभित्रै तालिम प्रदान गरिने योजना रहेको जनाइएको छ ।
चलचित्र विकास बोर्डले आफ्नो २५औँ वार्षिकोत्सवलाई ‘दक्षता अभिवृद्धि वर्ष’का रूपमा मनाउँदै विभिन्न क्षमता विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत चलचित्र क्षेत्रसँग सम्बन्धित तालिम, अभिमुखीकरण तथा सीप विकासका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यस्ता कार्यक्रमले चलचित्र क्षेत्रको प्रशासनिक र प्राविधिक क्षमता सुदृढ बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र डिजिटल प्रणालीमा आधारित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।