चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ अभिनित नयाँ म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक गरिएको छ । बसन्त थापा मगरको शब्द, संगीत तथा स्वर रहेको यस रोमान्टिक गीतमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग प्रेमिल भूमिकामा प्रस्तुत गरिएको छ ।
सधैं हास्य अभिनयमार्फत दर्शकको मन जित्दै आएका जोगिन्दर यसपटक फरक शैलीमा देखिएका छन् । भिडियोमा उनी र सेजलबीचको रोमान्टिक केमेस्ट्री आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
भिडियोको कथा लामो समय विदेश वा बाहिरी बसाइपछि आफ्नै गाउँ फर्किएको युवाको अनुभूति वरिपरि घुम्छ । गाउँ फर्किएपछि बाल्यकालका साथीभाइसँगको पुनर्मिलन, आफ्ना प्रियजनसँगको आत्मीयता र प्रेमिकासँग बिताइने मधुर क्षणलाई भिडियोमा समेटिएको छ ।
ग्रामीण परिवेशका सुन्दर दृश्य, हरियाली खेतबारी, नदी किनार तथा परम्परागत नेपाली गाउँघरको जीवनशैलीले भिडियोलाई थप जीवन्त बनाएको छ। प्राकृतिक सौन्दर्यले भरिएको लोकेसनले गीतको भावलाई प्रभावकारी रूपमा उजागर गरेको छ ।
रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको भिडियोको सम्पादन पनि तिमल्सिनाले नै गरेका हुन् । पछिल्लो समय व्यस्त निर्देशकका रूपमा परिचित समन अधिकारीले भिडियोको निर्देशन गरेका छन् । ‘रेस्क्यु क्रिएसन’को ब्यानरमा निर्माण भएको भिडियोले नेपाली गाउँघरको मौलिकता, प्रेम र पुराना सम्झनालाई पुनः जागृत गराउने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
हास्य कलाकारको परिचयबाट फरक भूमिकामा देखिएका जोगिन्दरको यो नयाँ प्रस्तुति दर्शक तथा श्रोतामाझ सकारात्मक रूपमा रुचाइने अपेक्षा निर्माण पक्षले गरेको छ ।