नेपाली फिल्म ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराले निर्माण पक्षमार्फत फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्दै दशैंको अवसर पारेर दर्शकमाझ ल्याइने जानकारी दिएका छन् ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् । उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माताका रूपमा रहेका छन् । फिल्मको कथा निर्देशक बोहराले तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई शिवम अधिकारीले साथ दिएका छन् ।
निर्माणकै चरणदेखि चर्चामा रहेको फिल्मले पहिलो झल्को (फर्स्टलुक) सार्वजनिक भएसँगै दर्शकको ध्यान खिच्न सफल भएको थियो । फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य तथा विन्दु आचार्यलगायत कलाकारको अभिनय रहेको छ ।
धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा र यमप्रसाद वली सहनिर्माताका रूपमा आबद्ध छन् ।
फिल्मको विशेष आकर्षणका रूपमा हास्य कलाकार नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमनलाई हेरिएको छ । झण्डै दुई दशकपछि चलचित्र क्षेत्रमा फर्किएका त्रिपाठीले ‘चमेलीको पोइ’मा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक छन् भने योगेन्द्र कार्की र मार्लभ ढुंगाना सहायक निर्देशकका रूपमा रहेका छन् ।
आरआर फिल्म्सले वितरण गर्ने ‘चमेलीको पोइ’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको निर्माण पक्षले जनाएको छ । पारिवारिक मनोरञ्जन र हास्यप्रधान कथासहित आउने फिल्मले दशैंको चलचित्र बजारमा विशेष स्थान बनाउने अपेक्षा गरिएको छ ।