भैरहवामा अत्याधुनिक सुविधासहितको आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । शुक्रबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको यो मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
नेपाली चलचित्र उद्योगले पछिल्ला वर्षहरूमा घरेलु बजार विस्तार र नयाँ दर्शक आकर्षित गर्ने प्रयास गरिरहेका बेला देशका विभिन्न सहरमा आधुनिक सिनेमा हलहरूको संख्या बढ्दै गएको छ । भैरहवामा थपिएको नयाँ मल्टिप्लेक्सले चलचित्र प्रदर्शनका लागि थप स्क्रिन उपलब्ध गराउँदै निर्माता, वितरक तथा प्रदर्शकलाई समेत लाभ पुग्ने विश्वास गरिएको छ ।
आईएनआई सिनेमाजका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवाको व्यापारिक र पर्यटन सम्भावनालाई ध्यानमा राखेर लगानी गरिएको जानकारी दिनुभयो । निर्देशक आभाष कुँवरले आधुनिक मनोरञ्जन उद्योगको विकाससँगै युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको बताउनुभयो ।
सञ्चालक सुरेन्द्र थापाका अनुसार मल्टिप्लेक्समा प्रयोग गरिएको अत्याधुनिक प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रियस्तरको चलचित्र अनुभव दिनेछ। साथै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग र अन्य आवश्यक सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।
दुई अडिटोरियम रहेको यस मल्टिप्लेक्सका प्रत्येक हलमा १९८ सिट क्षमता रहेको छ । यसअनुसार एकैपटक ३९६ दर्शकले चलचित्र अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । यहाँ बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस–एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आरामदायी सिटिङ सुविधा जडान गरिएको छ ।
सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले काठमाडौं, बुटवल, सिमरा र नवलपुरलगायत विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गरिसकेको छ । भैरहवा शाखा सञ्चालनसँगै कम्पनीको कुल स्क्रिन संख्या १३ पुगेको छ । काठमाडौंको अर्को स्थानमा समेत नयाँ शाखा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।