नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत निर्माण टिमले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो ।
ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रले समाजमा विद्यमान विकृति, विसंगति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ । निर्देशक राजु शाहले निर्माण गरेको चलचित्रले मद्यपानका कारण परिवार र समाजमा सिर्जना हुने समस्या, तनाव, कलह तथा त्यसका नकारात्मक असरलाई मुख्य विषयवस्तु बनाएको छ ।
चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल र किरणप्रताप केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
राजेन्द्र भट्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र सुकुलढोका मिडिया प्रालिको ब्यानरमा तयार गरिएको हो । चलचित्रका निर्माता सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह हुन् ।
फिल्मको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार गरेका छन् । चलचित्रमा दिपेन बस्न्यातको छायांकन तथा सम्पादन, योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन, श्रीपुरुष ढकालका गीत, तथा रोशन बालुवाको संगीत र स्वर रहेको छ । यस चलचित्र आगामी असार १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।