अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’ का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई चलचित्र विकास बोर्डले नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबार काठमाडौंस्थित नाथममा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा मन्त्री पौडेलले चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति र सिर्जनशीलतालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रको सफलता राष्ट्रकै गौरव भएको उल्लेख गर्दै चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत तथा कानुनी सुधारमा ध्यान दिएको जानकारी दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स इन द फग’ को उपलब्धिले नेपाली चलचित्र उद्योगलाई विश्वबजारमा आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएको बताए । उनले चलचित्रसम्बन्धी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारीसमेत दिए ।
सम्मान ग्रहण गर्दै निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि सम्पूर्ण नेपाली चलचित्रकर्मीको साझा सफलता भएको बताए । निर्माता अनुप पौडेल, प्रचण्डमान श्रेष्ठ, कलाकार पुष्पा थिङ लामा लगायत चलचित्र टोली कार्यक्रममा सहभागी थिए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले चलचित्रको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कान्स फिल्म फेस्टिभल २०२६ अन्तर्गत ‘अन सर्तेन रिगार्ड’ विधाको जुरी पुरस्कार तथा उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार जित्न सफल ‘इलिफेन्ट्स इन द फग’ ले विश्वस्तरमा नेपाली कथावस्तु, संस्कृति र सिर्जनात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएको छ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्माता, निर्देशक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।