चलचित्र समीक्षा लेखन तथा चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार सहभागी भएका थिए ।
पत्रकारितालाई थप व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिममा चलचित्र समीक्षा लेखनका सिद्धान्त, वर्तमान चलचित्र पत्रकारिताको अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रका कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन, दर्शकको दृष्टिकोण तथा जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा राजेश गङ्गाजु, अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गर्दै सहभागीहरूलाई चलचित्र समीक्षा र पत्रकारितासम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र उद्योगको समग्र विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए । स्वस्थ समीक्षा र तथ्यमा आधारित पत्रकारिताले नेपाली चलचित्र क्षेत्रलाई थप सशक्त र व्यवस्थित बनाउन योगदान पुग्ने उनको भनाइ थियो ।
अध्यक्ष डिसीले चलचित्रका सकारात्मक तथा आलोचनात्मक पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गर्दै यस्ता तालिमले चलचित्र पत्रकारितामा नयाँ ऊर्जा र व्यावसायिकता थप्ने विश्वास व्यक्त गरे। साथै, चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
आयोजक आइडिया ग्रोभका प्रतिनिधिहरूले तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी व्यावहारिक अनुभव र ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको बताए । अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अभ्यासमूलक सत्रसहित तीन दिनसम्म सञ्चालन भएको तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।