थारु समुदायको भाषा, संस्कृति र मौलिक पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यसहित सुनसरीको झुम्कामा आयोजित सातदिने अभिनयकला तालिम सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डको सहकार्य तथा थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा सञ्चालन गरिएको तालिममा उदयपुर, सुनसरी, सिराहा, सप्तरी र मोरङका ५१ जना सहभागी भएका थिए। तालिममा अभिनयकलाका सैद्धान्तिक र व्यावहारिक पक्षबारे प्रशिक्षक परशुराम चौधरी र विजय सुब्बाले प्रशिक्षण प्रदान गरेका थिए ।
सहभागीहरूलाई नवरसको प्रयोग, चलचित्रका विभिन्न विधा, पात्र निर्माण, संवाद प्रस्तुति, हाउभाउ तथा भावभङ्गी, क्यामेरा अभिनयलगायत अभिनयसँग सम्बन्धित आधारभूत सीपबारे अभ्यास गराइएको आयोजकले जनाएको छ ।
तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने समापन समारोह आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिकी सदस्य–सचिव तथा चलचित्र विकास बोर्डकी अधिकृत अप्सरा समालको उपस्थितिमा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा बोल्दै थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष परशुराम चौधरीले तालिम सफल बनाउन सहयोग गरेकोमा चलचित्र विकास बोर्डप्रति आभार व्यक्त गरे । उनले यस्ता कार्यक्रमले थारु समुदायभित्र रहेका प्रतिभाको खोजी र क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनका अनुसार थारु समुदायमा अभिनयप्रति रुचि र क्षमता भएका धेरै युवायुवती भए पनि उनीहरूले आवश्यक प्रशिक्षण र अवसर पाउन सकेका छैनन् । यस प्रकारको तालिमले अभिनयसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै सहभागीको आत्मविश्वास वृद्धि गर्न समेत सहयोग पुगेको उनले उल्लेख गरे ।
चौधरीले आगामी दिनमा थारु भाषा, संस्कृति, मौलिक कथा तथा समुदायका जीवनभोगाइलाई चलचित्रमार्फत प्रभावकारी ढंगले प्रस्तुत गर्न यस्ता तालिमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
आयोजकका अनुसार तालिमले थारु चलचित्र उद्योगका लागि दक्ष कलाकार उत्पादन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । साथै स्थानीय प्रतिभालाई व्यावसायिक चलचित्र क्षेत्रमा प्रवेश गर्ने अवसर सिर्जना गर्दै मातृभाषी चलचित्र निर्माणमा नयाँ पुस्ताको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।