नुवाकोटमा सम्पन्न ‘९औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगरको जोडीले जित्न सफल भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतिष्ठान उपत्यका समन्वय समिति ९ख० का प्रतिनिधित्व गरेका उनीहरूले १७ प्रतिस्पर्धी टोलीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन् । विजेता जोडीले रनिङ शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
विदुर नगरपालिकास्थित इलम प्रशिक्षण केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतिष्ठान बागमती प्रदेश (क) का सरोज सिंखडा र जमुना विश्वकर्मा द्वितीय भए भने प्रतिष्ठान मधेश प्रदेश (क) का मानव रावत क्षेत्री र भावना अर्याल तृतीय घोषित भए । यस्तै, प्रतिष्ठान लुम्बिनी प्रदेश (ख) का राजमान खत्री र शान्ता वलीले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा द्वितीय हुने टोलीले २ लाख रुपैयाँ, तृतीयले १ लाख रुपैयाँ तथा सान्त्वना प्राप्त टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
जेठ २९ गतेदेखि ३१ गतेसम्म चलेको प्रतियोगितामा विभिन्न विधातर्फ उत्कृष्ट कलाकारहरू समेत सम्मानित भएका छन् । उत्कृष्ट गायकको उपाधि राजु लामिछाने (प्रतिष्ठान बागमती प्रदेश) (ख) ले प्राप्त गर्दा उत्कृष्ट गायिकामा जमुना सुनार (प्रतिष्ठान उपत्यका समन्वय समिति) (क) चयन भइन्। उत्कृष्ट नवगायक बिक्रम गहतराज (प्रतिष्ठान सुदूरपश्चिम प्रदेश) (ख) तथा उत्कृष्ट नवगायिकामा शितल कल्पना विक (प्रतिष्ठान कर्णाली प्रदेश) (ख) घोषित भए ।
त्यसैगरी अनुशासित गायकतर्फ बेलबहादुर परियार (प्रतिष्ठान मधेश प्रदेश) (ख) र अनुशासित गायिकातर्फ शान्ति कार्की (प्रतिष्ठान चण्डीगढ) पुरस्कृत भए । उत्कृष्ट भेषभूषा (पुरुष) तर्फ प्रितम पोखरेल (प्रतिष्ठान यूके) तथा उत्कृष्ट भेषभूषा (महिला) तर्फ सीता माझी (प्रतिष्ठान कोशी प्रदेश (क) सम्मानित भए ।
प्रतियोगिताको उद्देश्य नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन रहेको प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरले बताइन् । उनका अनुसार अपेक्षाभन्दा भव्य रूपमा सम्पन्न प्रतियोगिताका लागि आन्तरिक छनोट प्रक्रियामार्फत १८ टोलीलाई फाइनल चरणमा सहभागी गराइएको थियो ।
भव्य उद्घाटनसहित सुरु भएको कार्यक्रममा चर्चित लोकगायक–गायिका, राजनीतिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिताको मूल समारोह संयोजक स्वयं अध्यक्ष रीता थापा मगर रहेकी थिइन् भने सह–संयोजकको जिम्मेवारी प्रशासनिक उपाध्यक्ष दीपक खड्काले निर्वाह गरेका थिए । उप–संयोजकमा उषा सुवेदी रहेकी थिइन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापन वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका थिए भने कार्यक्रम निर्देशकको भूमिका उज्वलजंग ठकुरीले निर्वाह गरेका थिए ।
करिब २० हजार दर्शकले अवलोकन गरेको प्रतियोगिताको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको थियो । विदुर नगरपालिका र टोखा नगरपालिका संरक्षकका रूपमा रहेका थिए भने नुवाकोट उद्योग वाणिज्य संघ प्रवर्द्धक संस्थाका रूपमा जोडिएको थियो । नुवाकोट निर्माण व्यवसायी संघ मुख्य सहयोगी संस्थाका रूपमा रहेको आयोजकले जनाएको छ ।
प्रतिष्ठानले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सबै निकाय, सहभागी कलाकार, लोकसंगीतप्रेमी, सञ्चारकर्मी तथा आम दर्शकप्रति आभार व्यक्त गरेको छ ।